बीबीसी । अमेरिकी सरकारले युक्रेनका ड्रोनको गति र स्टारलिंक नेटवर्कको प्रयोगमा लगाइएको प्रतिबन्ध निर्धारण गरेको हुन सक्ने इलोन मस्कले बताएका छन्। उनले स्टारलिंकको सैन्य प्रयोजनका लागि विकसित सेवा स्टारसिल्डको गति तथा प्रयोगसम्बन्धी सीमा अमेरिकी सेनाले तय गर्ने र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने स्पष्ट पारेका छन्।
मस्कको स्वामित्वमा रहेको स्पेसएक्सको स्टारलिंक सेवा युक्रेनका लागि युद्धमैदानमा महत्त्वपूर्ण प्रविधि मानिन्छ। यसले युक्रेनी सेनालाई रुसी लक्ष्यतर्फ ड्रोन परिचालन गर्न तथा हवाई आक्रमणबाट आफ्नो क्षेत्रको रक्षा गर्न सहयोग गर्दै आएको छ।
तर, मंगलबार राति स्टारलिंकले गति सीमा लागू गरेपछि तीव्र गतिमा उड्ने केही ड्रोन तथा हतियारको नेटवर्कसँगको सम्पर्क अवरुद्ध भएको युक्रेनले जनाएको छ। स्टारलिंकले अधिकतम गति प्रतिघण्टा १०० माइल अर्थात् करिब १६० किलोमिटरमा सीमित गरेको थियो। उक्त सीमाभन्दा तीव्र गतिमा चल्ने हतियारले नेटवर्कसँगको सम्पर्क गुमाएका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारले यो प्रतिबन्ध संयोगवश नभएको र किएभ तथा वासिङ्टनबीच पछिल्लो समय बढेको तनावसँग सम्बन्धित हुन सक्ने बताएका थिए।
यसैबीच, युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले बुधबार साँझ स्टारलिंक सेवा आंशिक रूपमा पुनःस्थापित भएको जानकारी दिएका थिए। उनले स्टारसिल्डको गति सीमा पूर्ण रूपमा हटाउनु युक्रेनको रक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मस्कलाई निरन्तर सहयोगका लागि आग्रह गरेका थिए।
फेदोरोभको आग्रहको जवाफ दिँदै मस्कले स्टारसिल्ड अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा रहेको बताएका हुन्। उनले एक्समा लेखेका छन्, “स्टारसिल्ड प्रणाली अमेरिकी सरकारको स्वामित्वमा छ र उसकै नियन्त्रणमा छ। गति वा प्रयोगमा लगाइने कुनै पनि सीमा अमेरिकी सेनाले निर्धारण गर्छ र अन्तिम निर्णय राष्ट्रपतिले गर्छन्।”
मस्कले स्टारलिंक नागरिक तथा रक्षात्मक गतिविधिका लागि बनाइएको सेवा भएको उल्लेख गर्दै आक्रामक सैन्य कारबाहीमा यसको प्रयोग उपयुक्त नहुने बताएका छन्। व्यावसायिक कम्पनीका रूपमा स्टारलिंकलाई आक्रामक सैन्य गतिविधिमा प्रयोग गर्नु उचित नहुने उनको भनाइ छ।
स्टारलिंक र स्टारसिल्ड दुवै स्पेसएक्सका सेवा हुन्। स्टारलिंकले भूउपग्रहको सहायताले विशेषगरी दुर्गम क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउँछ भने स्टारसिल्ड सरकारी तथा सैन्य प्रयोजनका लागि विकास गरिएको प्रणाली हो। यस विषयमा अमेरिकी सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
स्टारलिंकको गति सीमा लागू भएको समयमा रुसले युक्रेनमाथि घातक आक्रमण गरेको थियो। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा किएभमा कैयौँ मानिसको मृत्यु भएको थियो भने सेनाले प्रयोग गर्ने सञ्चार तथा ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो।
जेलेन्स्कीले उक्त आक्रमणलाई रुसले गरेको सबैभन्दा ठूलो आक्रमणमध्ये एक भन्दै ठूलो सङ्ख्यामा ड्रोन खसालिए पनि केही लक्ष्यमा प्रहार भएको बताएका थिए। आक्रमणका कारण युक्रेनभर कम्तीमा छ लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए। स्थानीय बासिन्दाहरूले ड्रोन आक्रमण हुनुअघि कुनै पूर्वचेतावनी नपाएको बताएका थिए।
