ममाथि निर्मम छानबिन होस्, दोषी भए सजाय भोग्न तयार छुः खगेन्द्र सुनार

काठमाडौं । विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गरेका छन् । आफूले कुनै गलत काम गरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत उनले आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेका आरोपका कारण पार्टी, सरकार, पार्टीका सदस्य, शुभचिन्तक र मतदाताले शिर झुकाउनुपर्ने अवस्था नरहेको बताएका छन्।

‘म र मैले कुनै पनि कुकर्म गरेको खण्डमा पार्टी र सरकारले सती जानुपर्दैन,’ उनले भनेका छन्, ‘म पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार छु। मैले गरेको भनिएको पाप वा अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु।’

सुनारले आफूमाथि लागेका आरोपको छानबिन हुनुपर्नेमा जोड दिँदै यस प्रकरणमा एक महिलामाथि भइरहेको भनिएको मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा अनावश्यक तस्बिर, अडियो र भिडियो जोडेर टिप्पणी गर्ने कार्यप्रति आपत्ति जनाएका छन्।

राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय एक महिलालाई विगतमा कसैले दुःख दिएको थियो भन्ने भनाइका आधारमा यसरी लखेट्नु उचित नभएको उनको तर्क छ। आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित निकायले अनुसन्धान गरी कानुनी प्रक्रियामार्फत कारबाही गर्न सक्ने उनले बताएका छन्।

सुनारले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पटक–पटक बोलाइएको तथा मुद्दा हाल्न भनिएको विषयसमेत आफ्नो अभिव्यक्तिमा उल्लेख गरेका छन्। उनका अनुसार ती महिलाले अन्याय भएको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको जवाफ दिएकी थिइन्।

उनले आफूले विभिन्न विषयमा प्रश्न उठाएको वा मुद्दा अघि बढाएको कारण आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको पनि स्पष्ट पारेका छन्। अहिले आफूमाथि प्रश्न उठेको र समाचार सार्वजनिक भएकाले प्रत्येक आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने उनको भनाइ छ।

‘जे कारबाही हो, ममाथि होस्, मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ सुनारले भनेका छन्।
उनले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै सम्बन्धित महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट हुने दुव्र्यवहार रोक्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *