स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न रास्वपाले बनायो चार मापदण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न चारवटा मापदण्ड तय गरेको छ । पार्टीले नेतृत्व एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनका आधारमा उम्मेदवार छनोट गर्ने व्यवस्था गरेको हो।

रास्वपाको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुसार उम्मेदवार छनोटको कुल मूल्याङ्कनमा प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ। त्यस्तै, नेतृत्व एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीलाई २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भार दिइएको छ।

रूपरेखाअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले सुरुमा पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि आकांक्षीको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको परीक्षण गरिनेछ। त्यसपछि नेतृत्व एकेडेमीमार्फत प्रशिक्षण र मूल्याङ्कनको प्रक्रिया अघि बढाइनेछ।

नेतृत्व एकेडेमीअन्तर्गत राजनीतिक दर्शन, पार्टीको विधान, संविधान, सङ्घीयता, स्थानीय शासन, सुशासन, सार्वजनिक वित्त, नागरिक सेवा र नीति निर्माणलगायत विषयमा प्रशिक्षण दिइने व्यवस्था छ। तोकिएको न्यूनतम मापदण्ड पूरा नगर्ने आकांक्षी छनोट प्रक्रियाको थप चरणमा सहभागी हुन पाउने छैनन्।

पोलिटिकल प्रोक्सिमिटीअन्तर्गत आकांक्षीको राजनीतिक पृष्ठभूमि, पार्टीभित्रको भूमिका, सामाजिक सम्बन्ध, चरित्र, लोकप्रियता र निर्वाचन जित्ने सम्भावनाको मूल्याङ्कन गरिनेछ। यसका लागि तथ्याङ्क तथा स्वतन्त्र प्रमाणीकरणमा आधारित मूल्याङ्कन प्रणाली अपनाइने रूपरेखामा उल्लेख छ।

त्यस्तै, समावेशिताअन्तर्गत महिला, युवा, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका क्षेत्रका समुदायको प्रतिनिधित्वलाई ध्यान दिइनेछ।

प्रारम्भिक निर्वाचनमार्फत पार्टी सदस्यको मतका आधारमा उम्मेदवारको लोकप्रियता, जनाधार र सङ्गठनात्मक स्वीकार्यता परीक्षण गरिने व्यवस्था गरिएको छ। यसलाई उम्मेदवार छनोटको मुख्य आधारका रूपमा राखिएको छ।
रूपरेखाले उम्मेदवार छनोटमा नातासम्बन्ध, पहुँच, चाकडी, आर्थिक हैसियत र सीमित समूहको प्रभावलाई निरुत्साहित गर्दै पारदर्शी तथा प्रमाणमा आधारित प्रणाली अपनाउने लक्ष्य राखेको छ।

उम्मेदवारका लागि सार्वजनिक आचरण, इमानदारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था र कानुनी योग्यतालाई पनि महत्त्व दिइएको छ। आकांक्षीले सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार छनोटमा यो रूपरेखा लागू गर्ने जनाएको छ। पार्टीका अनुसार यसको उद्देश्य आन्तरिक लोकतन्त्र बलियो बनाउनु, योग्य नेतृत्व विकास गर्नु र स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *