कोलम्बो । श्रीलङ्काको आर्थिक सुधारमा एल निनोका कारण उत्पन्न हुन सक्ने प्रतिकूल मौसमले बाधा पुर्याउने जोखिम बढेको छ। देशको केन्द्रीय बैंकले जलवायुजन्य जोखिम र वित्तीय बजारको अस्थिरताले आर्थिक तथा वित्तीय स्थिरतामा चुनौती थप्न सक्ने चेतावनी दिएको छ।
श्रीलङ्का सन् २०२२ मा विदेशी मुद्रा सञ्चिति सकिएपछि आवश्यक वस्तुको आयात भुक्तानी गर्न नसकी सार्वभौम ऋण भुक्तानीमा असफल भएको थियो। खाद्यान्न, इन्धन र औषधिको अभावपछि भएको महिनौँ लामो प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छाड्न बाध्य बनाएको थियो।
सन् २०२३ मार्चमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बाट दुई अर्ब ९० करोड अमेरिकी डलरको सहायता पाएपछि श्रीलङ्काले विदेशी ऋण पुनःसंरचना गर्दै अर्थतन्त्र सुधारको प्रयास अघि बढाएको छ । विश्व बैंकका अनुसार अर्थतन्त्र सङ्कटअघिको अवस्थामा फर्किएको छ । तर, गत वर्षको चक्रवात दिटवाहले करिब ६५० जनाको ज्यान लिनुका साथै ठूलो आर्थिक क्षति पुर्याएको थियो ।
विश्व बैंकले उक्त चक्रवातबाट पूर्वाधारमा करिब चार अर्ब १० करोड अमेरिकी डलरको क्षति भएको अनुमान गरेको छ। सरकारले पुनःस्थापनाका लागि एक अर्ब ६० करोड अमेरिकी डलरको कार्यक्रम अघि बढाएको छ । केन्द्रीय बैंकका अनुसार सम्पत्तिको मूल्यमा आएको कमजोरी र ऋणदाताको जोखिमले वित्तीय क्षेत्रमाथि थप दबाब सिर्जना गरेको छ।
बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा एल निनोका कारण मौसम बिग्रँदा घरपरिवार र व्यवसाय प्रभावित हुने तथा ऋणको गुणस्तर खस्किएर वित्तीय संस्थाहरूमा दबाब बढ्न सक्ने उल्लेख गरेको छ ।
श्रीलङ्काको मौसम विभागले डिसेम्बरसम्म भारी वर्षा र त्यसपछि सन् २०२७ को सुरुतिर लामो खडेरी पर्न सक्ने पूर्वानुमान गरेको छ। विभागले हालको एल निनो अवस्थालाई देशले अनुभव गरेका गम्भीर अवस्थामध्ये एकका रूपमा वर्णन गरेको छ।
एल निनो प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने प्राकृतिक जलवायु प्रक्रिया हो । यसले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउन सक्छ। वैज्ञानिकहरूका अनुसार मानवजन्य जलवायु परिवर्तनले चरम मौसमका लागि थप ऊर्जा र आद्र्रता उपलब्ध गराएर यस्ता घटनाको प्रभाव बढाउन सक्छ।
