काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुदाँ त्यसतर्फ हेक्का राख्न आग्रह गरे । उनले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताए ।
दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उनले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिए ।
‘सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्,’ उनले भने ।
प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उनको भनाइ थियो । ‘प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ । त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुने छैन,’ उनले भने ।
महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गरे ।
उनले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताए ।
समारोहका प्रमुख अतिथि प्रधानमन्त्री बालेन साहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गरे । ।
प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए । साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।
