काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत भएको खेलमा नेपाल विजयी भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो ।
जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २ सय ११ रनमा समेटिएको हो । क्यानडाको लागि एरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले नटआउट ३०, तथा श्रेयस मोभा र हाम्जा तारिकले समान २६/२६ रन बनाए ।
नेपालको लागि नन्दन यादव, करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए ।
यसअघि ओमानको अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो । नेपालको लागि रोहित पौडेलले सतक पूरा गरे । उनले १ सय २७ बल खेल्दै ८ चौका र एक छक्काको मद्दतमा १ सय १ रन बनाएका हुन् । एकदिवसीयमा उनको यो तेस्रो सतक हो । यस्तै गुलसन झाले ३४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४८ रन बनाउँदा बासिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
क्यानडाको लागि अखिल कुमारले चार, सुख्जिन्दर सिंहले तीन र जाहिद शिर्जादले दुई विकेट लिए ।
जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । एक खेल बढि खेलेको क्यानडा २५ अंकको साथ सातौँ स्थानमा झरेको छ ।
