काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक एकता खण्डित हुने गरी कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डा रहेको सन्दर्भमा भट्टराईले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् । आवश्यक कामका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी दिँदै उनले आफ्नो अनुपस्थितिबारे पहिले नै जानकारी गराइसकेको बताएका छन् ।
भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनेको बताएका छन् । यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गरी राष्ट्रिय जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
असोजको पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा पनि यी विषय उठाइएको स्मरण गराउँदै उनले केन्द्रीय सदस्य मनोनयनमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । विगतमा छुटेका भूगोल र समुदायलाई समेट्दै पार्टीभित्रको आन्तरिक सन्तुलन कायम हुने गरी मनोनयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउनुपर्ने भट्टराईको सुझाव छ । यसअघि केन्द्रीय कमिटी बैठकमा स्पष्ट मापदण्डका आधारमा नयाँ र पुरानाको मिश्रणसहित पार्टीका संरचना गठन गर्नुपर्ने विषय उठाइए पनि निर्णयले त्यस भावनालाई समेट्न नसक्दा सकारात्मक ऊर्जा पैदा हुन नसकेको उनले उल्लेख गरेका छन् ।
आसन्न निर्वाचनलगायतका चुनौती सामना गर्न पार्टीभित्रको एकता पहिलो सर्त हुने बताउँदै भट्टराईले हतारमा गरिने निर्णयले पार्टीलाई थप समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् ।
‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय ‘हतारमा निर्णय र फुर्सदमा पछुताउने’ सरह हुनेछ,’ उनले भनेका छन् ।
पार्टीभित्र सहमति र सन्तुलन कायम हुन नसके केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने भट्टराईको सुझाव छ ।
