इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छः प्राधिकरण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रावधान स्मरण गराएको छ ।

प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै प्राधिकरणले नियमविपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम सेवा प्रदायकमाथि कारबाही गरिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *