चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९ सम्मका दुई सय बढी स्वयंसेविकालाई आज सचेतना प्रदान गरिएको हो ।
सो अवसरमा अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविका मार्फत् वडा वडामा सचेतना फैल्याउने अभियान शुरु गरिएको बताइन् । उनले भनिन्, “यहाँ सिकेका ज्ञान तपाईहरुले घरघरसम्म पु¥याएर सचेतना फैल्याउनु हुनेछ ।”
स्तन क्यान्सर भयो भन्दैमा डराउनु नपर्ने जनाउँदै उनले समयमा पहिचान गरी उपचार गरेमा निको हुने बताइन् । समय समयमा स्तन क्यान्सर छ छैन भनी परीक्षण गरेर ढुक्क भएर बस्न उनको सुझाव छ । स्तनमा भएका कोषिकाहरुको असामान्य बृद्धिलाई स्तन क्यान्सर भनिने जनाउँदै उनले आफैले छामेर पनि गाँठागुँठी पत्ता लगाउन सकिन्छ भने । उनले भनिन्,“स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर क्यान्सर हो होइन परीक्षण गरेर निक्र्याैल गर्नुपर्छ ।”
कार्यक्रममा भरतपुर महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले स्वयंसेविका मार्फत् सन्देश घरघरमा पुग्ने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने बताए । संघीय सरकारले रु.एक लाख र बागमती प्रदेश सरकारले रु. ५० हजार क्यान्सर उपचारका लागि दिने जनाउँदै स्तन र पाठेघरको क्यान्सरका लागि त्यसमा पनि थप रु. ५० हजार प्रदेशले सहयोग गर्ने जानकारी दिए ।
अस्पताल निर्देशक प्रा.डा.गोपेन्द्र द्वाले क्यान्सरको सहज उपचारका लागि चितवन मेडिकल कलेजले छुट्टै क्यान्सर ईन्स्टिच्यूट सञ्चालन गरेको जानकारी दिए । उनले क्यान्सर उपचारका लागि आउने बिरामी अन्यत्र भौतारिनु नपर्ने जनाउँदै सम्पूर्ण सुविधा एउटै भवनबाट दिइएको उनको भनाइ छ ।
शैक्षिक निर्देशक प्रा.डा.दयाराम लम्साल, प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापा, रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुर लगायतले अस्पताले संघीय सरकार र प्रदेश सरकारले दिने विपन्न सबै सुविधा यस अस्पतालबाट प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरका सबै वडाका स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । अक्टोबर महिनालाई विश्वभरी स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यसै अवसरमा अस्पतालले एक महिनाभरी स्तन क्यान्सर निःशुल्क परीक्षण समेत सुरुआत गरेको छ ।
