साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी एन कार्सनलाई

बीबीसी । नोबेल समितिले यसवर्ष साहित्य विधातर्फको पुरस्कार क्यानडाकी एन कार्सनलाई दिने घोषणा गरेको छ । ‘शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि’ कार्सनलाई यसपटक सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।

कार्सनको जन्म सन् १९५० मा क्यानडाको टोरोन्टोमा भएको हो। सन् १९८१ मा उनले शास्त्रीय साहित्यमा विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गरेकी थिइन्। उनले कविता लेखनसँगसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आएकी छन् ।

उनी नोबेल साहित्य पुरस्कार पाउने उन्नाइसौँ महिला हुन् । कार्सनले सन् १९९० को दशकमा कैयौँ उल्लेखनीय कृतिहरू प्रकाशित गरेकी थिइन्। तीमध्ये सन् १९९५ मा प्रकाशित ’ग्लास, आइरनी, एन्ड गड’ मा समाविष्ट ’द ग्लास एसे’ले विधाका सीमाहरू मेटिँदै जाँदा लामो कवितामा रहने सम्भावना र सामथ्र्यलाई उजागर गरेको छ ।

सन् १९९८ मा उनको अर्को कृति ’अटोबायोग्राफी अफ रेडः अ नोभल इन भर्स’ प्रकाशित भयो। त्यसलाई कार्सनको उत्कृष्ट रचना मानिन्छ। सन् २०१० मा प्रकाशित उनको कृति ’नक्स’को पनि निकै प्रशंसा हुँदै आएको छ।

नोबेल समितिका अनुसार उनका सबैजसो साहित्यिक कृतिहरूमा शब्दप्रतिको भाषाशास्त्रीय मोह र नयाँ अर्थको खोजीमा कविमा हुने उत्कट चाहना झल्किन्छ। ‘उनले शब्दको व्युत्पत्तिलाई आफ्ना सबै रचनाहरूको प्रस्थानबिन्दु मान्दै आएकी छन्,’ नोबेल समितिले भनेको छ।

विजेतालाई १० डिसेम्बरमा स्टक्होममा पुरस्कार प्रदान गरिन्छ। त्यति बेला नोबेल पुरस्कारको पदक, डिप्लोमा र पुरस्कारस्वरूप प्राप्त हुने रकम पाएको पुष्टि गर्ने पत्र दिइन्छ।

नोबेल साहित्य पुरस्कारका लागि मनोनयन गर्नका लागि समितिले योग्य व्यक्तिहरूलाई पत्र पठाउने गर्छ। त्यस्ता व्यक्तिहरूमा स्वीडिश अक्याडमी र समान संरचना तथा उद्देश्य भएका अन्य प्रतिष्ठान र संस्थाहरूका सदस्यहरू, साहित्य र भाषाका प्राध्यापकहरू, नोबेल साहित्य पुरस्कार विजेताहरू अनि आफ्ना देशमा साहित्य सिर्जनाको प्रतिनिधित्व गर्ने लेखक समाजका अध्यक्षहरू पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *