एल निनो अझ तीव्र बन्दै डिसेम्बरमा उत्कर्षमा पुग्ने

जेनेभा । संयुक्त राष्ट्रसंघले एल निनो मौसमी घटना अझ तीव्र बन्दै आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने जनाएको छ। संयुक्त राष्ट्रसंघको मौसम तथा जलवायु निकायले सन् १९५० यताकै सबैभन्दा शक्तिशाली एल निनोमध्ये एक हुन सक्ने चेतावनी दिएको छ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले बिहीबार सार्वजनिक गरेको मासिक ‘ग्लोबल सिजनल क्लाइमेट अपडेट’मा एल निनो डिसेम्बरमा अनुमान गरिएको उत्कर्षअघि अझ तीव्र हुने जनाएको हो।

डब्लूएमओका अनुसार एल निनोका कारण विश्वका धेरै क्षेत्रमा औसतभन्दा बढी तापक्रम देखिनेछ। यसले मानव सिर्जित जलवायु परिवर्तनका असरलाई थप गम्भीर बनाउनेछ। साथै, वर्षाको स्वरूपमा परिवर्तन आउँदा विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढ्नेछ।

एल निनो प्राकृतिक रूपमा हुने मौसमी घटना हो। यस क्रममा मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्छ, जसले विश्वभर हावा, वायुदाब र वर्षाको स्वरूपमा परिवर्तन ल्याउँछ। यो घटना सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा दोहोरिन्छ र करिब नौदेखि १२ महिनासम्म रहन्छ।

एल निनो र यसको विपरीत अवस्था ‘ला निना’बीच मौसम प्रणालीमा उतारचढाव भइरहन्छ भने यी दुई अवस्थाबीच तटस्थ अवस्था रहने गर्छ।

एल निनो तीव्र गतिमा बलियो हुँदै

डब्लूएमओका अनुसार सन् २०२६ को अक्टोबर–नोभेम्बर–डिसेम्बर अवधिमा मध्य तथा पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च स्तरमा पुग्ने अनुमान गरिएको छ। यसले एल निनो थप बलियो भइरहेको संकेत गर्नेछ र विश्वभर मौसम, अर्थतन्त्र, पारिस्थितिक प्रणाली तथा समुदायमा प्रभाव पार्नेछ।

यो पूर्वानुमान १३ वटा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसम विज्ञान केन्द्रबीचको सहमतिमा आधारित रहेको डब्लूएमओले जनाएको छ। डब्लूएमओकी प्रमुख सेलेस्टे साउलोले एल निनो अहिले स्पष्ट रूपमा स्थापित भइसकेको र तीव्र गतिमा बलियो भइरहेको बताइन्।

उनका अनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनो कायम रहने सम्भावना करिब शतप्रतिशत छ। यो सन् १९५० यताकै सबैभन्दा शक्तिशाली एल निनोमध्ये एक हुन सक्ने पनि उनले बताइन्।

साउलोका अनुसार एल निनोले पृथ्वीमा नयाँ ताप थप्ने होइन, महासागरमा सञ्चित ताप बाहिर निकाल्ने गर्छ। उनले भनिन्, “यसले तानिरहेको महासागर हामीले अहिलेसम्म मापन गरेकोमध्ये सबैभन्दा तातो छ। त्यसैले बाहिर निकाल्नका लागि थप ताप उपलब्ध छ।”

समुद्री सतहको तापक्रममा कीर्तिमान

एल निनोको केन्द्र मानिने मध्य–पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रमको असामान्यता जुनमा सामान्यभन्दा १.६ डिग्री सेल्सियस बढी रहेकामा अगस्टमा बढेर २.५ डिग्री सेल्सियस पुगेको छ।

अक्टोबर–नोभेम्बर–डिसेम्बर अवधिमा यो तापक्रम सामान्यभन्दा करिब ३.७ डिग्री सेल्सियस बढी पुग्ने अनुमान गरिएको छ। यो समुद्री सतहको तापक्रमसम्बन्धी अवलोकन सुरु भएयताकै उच्च स्तर हुनेछ। यसले सन् २०१५–२०१६ मा कायम भएको २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानलाई समेत उछिन्नेछ।

यसअघिको एल निनोले सन् २०२३ लाई अहिलेसम्मकै दोस्रो तातो वर्ष बनाउन योगदान गरेको थियो भने सन् २०२४ औद्योगिक युगअघिको सन् १८५०–१९०० को औसतभन्दा करिब १.५५ डिग्री सेल्सियस बढी तापक्रमसहित अहिलेसम्मकै तातो वर्ष बनेको थियो।

एल निनो सामान्यतया नोभेम्बरदेखि फेब्रुअरीबीच उत्कर्षमा पुग्ने गर्छ। तर यसका कारण तापक्रममा आउने तीव्र वृद्धि भने प्रायः त्यसपछि देखिने गर्छ यसपटकको एल निनोले केही क्षेत्रमा यसअघि नै गम्भीर असर पार्न थालेको छ। मध्य अमेरिकाका केही क्षेत्रमा खडेरीका कारण जनावर र बाली मर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *