अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जनाको मृत्यु

पश्चिम अफगानिस्तानमा भएको एक शक्तिशाली कारबम बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ । हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त भएका छन् । मृत्यु हुनेहरुमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेका प्रवक्ता फरहादले बताए ।

उनले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिए । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

तर, तालिबानका लडाकूहरु यस राज्यमा निकै सक्रिय छन् र हालैका दिनहरुमा उनीहरुले सुरक्षाफौजलाई लक्षित गरी धेरैवटा हमला गरिसकेका छन् । राष्ट्रपति अश्रफ घानीले हेरात बिस्फोटका लागि तालिबान दोषी रहेको बताएका छन् । राष्ट्रपति घानीले एक वक्तव्य प्रकाशन गरी तालिबान समूहले आफ्नै जनतामाथिको अवैधानिक युद्धलाई निरन्तरता दिइरहेको र उनीहरुले वर्तमान सङ्कटको शान्तिपूर्ण समाधानका लागि पहल नगरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *