‘ब्ल्याक सी’ मा टर्कीको जहाजमाथि रूसी ड्रोनद्वारा आक्रमण

बुखारेस्ट । रुसी ड्रोनले सोमबार ‘ब्ल्याक सी’ मा अनाज बोकेको जहाजमा घातक आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गरेका छन् ।

रोमानियाले आफ्नो तट नजिक एउटा जहाज आगो लागेर डुबेको र दुई जना चालक दलका सदस्यको मृत्यु भएको रिपोर्ट गरेपछि यो प्रतिक्रिया आएको हो ।

“जलमार्गमा मकै बोकेको गैर–सैनिक जहाजमा दुई रुसी ड्रोनको भयानक आक्रमण भएको छ,” जेलेन्स्कीले एक्समा पोस्ट गर्दै लेखेका छन् ।

उनले जहाज टर्कीको स्वामित्वको भएको र त्यसमा अजरबैजानी तथा भारतीय नागरिकहरू सवार रहेको पनि बताए ।

रोमानियाली अधिकारीहरूका अनुसार, १३९ मिटर (४५५ फिट) लामो रोयाद मम्मादोभ जहाजमा ‘ब्ल्याक सी’ मा आक्रमणपछि आगो लागेपछि दुई जनाको मृत्यु भयो र ११ जनाको उद्धार गरियो। रुस–युक्रेन युद्धमा ड्रोन आक्रमणको बढ्दो युद्धक्षेत्र बनेको यस सागरमा यस्तो घटना नयाँ भने होइन ।

यसअघि पनि रूसले युक्रेनी अनाज निर्यातलाई प्रूभावित गर्न पटक पटक हमला गर्ने गरेको थियो ।

गृह मन्त्रालयले जहाज सफान्तु घेओर्घे माछा मार्ने बन्दरगाहबाट करिब ५० किलोमिटर दक्षिणमा डुबेको बतायो।

“करिब ११ः०० बजे, कोस्ट गार्ड सीमा प्रहरी अधिकारीहरूलाई रोमानियाको विशेष आर्थिक क्षेत्रभित्र रहेको व्यापारिक जहाजमा आगो लागेको जानकारी दिइएको थियो,” मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

“११ जना चालक दलका सदस्यको उद्धार गरिएको छ। दुई जना मृतकको पनि पहिचान भएको छ,” विज्ञप्तिमा थपिएको छ।

जेलेन्स्कीले जहाजको क्याप्टेन आक्रमणमा मारिएको बताए ।

नाटो सदस्य रोमानियासँग जोडिएको युक्रेन र पूर्वी युरोपभर ड्रोन गतिविधि बढ्दै गएको छ । युक्रेन सन् २०२२ मा सुरु भएको रुसी आक्रमणविरुद्ध लडिरहेको छ । दुवै देशले ड्रोन युद्धमा बढ्दो रूपमा भर परिरहेका छन् ।

टर्कीले ‘ब्ल्याक सी’ मा ढुवानीमाथिको आक्रमणबारे चिन्ता व्यक्त गरेको छ भने टर्कीका नाविकहरूले आक्रमणमा मृत्यु भएका घटनाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

गत महिना टर्कीको समुद्री वाणिज्य शाखाले युद्ध सुरु भएदेखि ‘ब्ल्याक सी’ मा २२६ वटा नागरिक तथा व्यापारिक जहाजमा आक्रमण भएको बताएको थियो।

तीमध्ये अधिकांश यस वर्ष भएका हुन्। टर्कीले दुवै पक्षप्रति असन्तुष्टि व्यक्त गरेको छ भने राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राष्ट्रसङ्घको महासभामा यस्ता आक्रमण ‘अस्वीकार्य’ भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *