काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टीभित्र सहकार्य, सहमति र एकताको वातावरण निर्माण गर्न सभापति गगन थापाले नेतृत्वदायी भूमिका खेलेको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै बानियाँले थापाले विद्यार्थी राजनीतिदेखि पार्टी नेतृत्वसम्मको यात्रा तय गर्दै अब मुलुकको नेतृत्व गर्ने लक्ष्य अघि सारेको उल्लेख गरे ।
उनले कांग्रेसले विगतमा प्राप्त राजनीतिक उपलब्धिको संरक्षण र संस्थागत गर्दै जनताको पक्षमा काम गर्दै आएको दाबी गरे । आगामी दिनमा पनि पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै अघि बढ्ने उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँग खेल्दै उपलब्धिको रक्षा गर्दै हिजो पनि अघि बढ्यो, आज पनि अघि बढ्छ,’ बानियाँले भने ।
