पोखराको फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार

पोखरा । पोखराको फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार साँझ अचानक आएको हावाहुरी तथा पानीको कारण चितवनबाट घुम्न आएका ७ जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा परी तालमा अलपत्र परेका थिए ।

खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एण्ड रेस्क्यु टावरबाट खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए  ।

यसैगरी बेगनास तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

सल्यान जिल्ला घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २५ वर्षीय नरेश बिक आज साँझ उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट  गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्काल परिचालन भएको थियो ।

परिचालित टोलीले खोजीकार्य गर्दा तालको करीब २५ फिट गहिराईबाट वेपत्ता पुरुषको शव फेला पारी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *