काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदैछ । महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।
महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए।
उनका अनुसार महाधिवेशनमा नवपुस्ताका करिब ५० हजार युवाले विभिन्न तहमा जिम्मेवारी पाएका छन् । ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेशागत समूह र विदेशमा रहेका नेपालीलाई समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिइएको उनले बताए।
कांग्रेसले १५औँ महाधिवेशनको मूल नारा ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ तय गरेको छ। महाधिवेशनमा पार्टीको नयाँ संकल्पबारे छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिने चालिसेले बताए।
उनका अनुसार महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनेछैन। पार्टीमा विधि र पद्धति निर्माण, लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने तथा युवालाई भविष्यप्रति आशावादी बनाउने विषयमा समेत छलफल हुनेछ।
कांग्रेसले बीपी कोइरालाको विचारलाई इतिहाससँग मात्र सीमित नराखी मुलुकको भविष्य र समृद्धिसँग जोड्ने जनाएको छ। मुलुकको समृद्धिको वैचारिक आधारका रूपमा बीपी विचारलाई अघि बढाउने कांग्रेसको तयारी छ।
महाधिवेशन प्रतिनिधिको दर्ता शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। प्रतिनिधिले सहभागिता दर्ताबापत ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिको आवास व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकिएको छ। आवाससम्बन्धी जानकारी ह्वाट्सएप एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।
असोज १८ गते उद्घाटनपछि १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीन फरक हलमा छलफल गरिनेछ।
निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ। उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। निर्वाचन कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुन सक्ने समितिले जनाएको छ।
महाधिवेशनमा सहभागी हुने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ। कांग्रेसले महाधिवेशनसम्बन्धी सूचना अद्यावधिक गर्न मिडिया सेन्टरबाट हरेक दिन मिडिया ब्रिफिङ गर्ने जनाएको छ।
