‘राज्यमा नै खुलेआम मुन्ना भाइ चल्दाखेरि राज्यको लागि यो गम्भीर विषय हो भन्ने कुरा हामीले बुझ्नुपर्छ’

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको गुणस्तर र सञ्चालन प्रक्रियामाथि प्रश्न उठाउँदै प्रतिनिधिसभामा छानबिनको माग गरिएको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले कलेजमा गम्भीर अनियमितता भइरहेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अन्सारीले कलेजले करिब २५ जना ‘नक्कली प्राध्यापक’ देखाएर पोस्ट ग्राजुएट (पीजी) सिट प्राप्त गरेको आरोप लगाए । उनका अनुसार कलेजको गतिविधिबारे प्रश्न उठाउने विद्यार्थीलाई होस्टेलबाट निकालिएको र कलेज प्रवेशमा समेत रोक लगाइएको छ।

चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत अनियमितता लुकाउने प्रयास हुने गरेको उनको दाबी छ। निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई बिरामीका रूपमा बेडमा सुताउने तथा नक्कली प्राध्यापकलाई वास्तविक प्राध्यापकका रूपमा प्रस्तुत गर्ने गरिएको उनले बताए ।

सांसद अन्सारीले परीक्षामा उत्तीर्ण गराइदिने भन्दै विद्यार्थीसँग रकम असुल्ने गरेको आरोप पनि लगाए । उनले नेपाली विद्यार्थीसँग प्रतिविषय तीन लाख रुपैयाँसम्म र विदेशी विद्यार्थीसँग पाँच लाख रुपैयाँसम्म लिने गरिएको आरोप लगाए । रकम लिएपछि उत्तरपुस्तिकामा उत्तरसमेत आफैँ लेखिदिने गरिएको उनको दाबी छ।’

कलेज सञ्चालकले विगतका सत्तासीनहरूको संरक्षण पाएका कारण यस्ता गतिविधिमाथि प्रभावकारी कारबाही हुन नसकेको आरोप पनि अन्सारीले लगाए । उनले सरकारले तत्काल छानबिन समिति बनाएर कलेजको शैक्षिक गतिविधि, पीजी सिट वितरण तथा विद्यार्थीमाथि भएको भनिएको व्यवहारबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए ।

कलेजमा अध्ययनरत विद्यार्थीको भविष्य प्रभावित हुन नदिन आवश्यक व्यवस्थापन गर्नुपर्ने माग गर्दै उनले अनियमितता पुष्टि भए दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग आग्रह गरे ।

मेडिकल शिक्षामा हुने कमजोरीको प्रत्यक्ष असर उपचार सेवाको गुणस्तरमा पर्न सक्ने भन्दै अन्सारीले यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्नुपर्ने बताए ।

अन्सारीले यो विषय कुनै एउटा संस्थामाथिको आरोप मात्र नभई राज्यमा भइरहेको बेथितिसँग जोडिएको विषय भएको बताए। उनले भने,‘यो कुनै एउटा संस्थाप्रतिको आरोप होइन। यो राज्यमा भइरहेको बेथिति र यो गोरखधन्दालाई कसरी बन्द गर्ने त? आज ती विद्यार्थीहरू काठमाडौँको सडकमा घुमिरहेका छन्, कुनै सुनुवाइ भएका छैनन् ।’

उनले शिक्षामन्त्री पोखरेललाई विद्यार्थीहरूको समस्या समाधानका लागि तत्काल छानबिन गर्न आग्रह गरे। उनले भने,‘म माननीय शिक्षामन्त्रीलाई यहाँबाट आग्रह गर्न चाहन्छु– उहाँले अहिलेसम्म जसरी मेरिटोक्रेसीको बेसमा भीसीहरू नियुक्त गर्नुभएको छ, जसरी मेरिटोक्रेसीको बुलन्द आवाज उहाँले उठाउनुभएको छ, यसमा पनि गम्भीर भएर छानबिन गरेर ती विद्यार्थीहरूको व्यवस्थापन राज्यले गरोस् ।’

मेडिकल शिक्षामा अनियमितता भइरहँदा त्यसको प्रत्यक्ष असर बिरामीको उपचारमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘अब त्यस्तो ठाउँमा, सम्माननीय सभामुख महोदय, यो मुन्ना भाइमा हेर्दाहेर्दै त रमाइलो लाग्थ्यो तीन घण्टा, तर राज्यमा नै खुलेआम मुन्ना भाइ चल्दाखेरि यो राज्यको लागि यो गम्भीर विषय हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *