म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछुः महामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गरिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री आचार्यले आफू पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दै गरेको बताएका हुन् ।

उनले भने, ‘म औसत क्षमताको इन्जिनियर भएर होला मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ । म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु ।’

बुधबार प्रधानमन्त्री बालेन साहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई एक्स्ट्रा अर्डिनरी सांसद्को संज्ञा दिएका थिए ।
महामन्त्री आचार्यले नेपाली मुद्राका लागि छुट्टै मौलिक ‘युनिकोड सिम्बल’ आवश्यक रहेको बताए।

उनले विश्वका शक्तिशाली मुद्राहरू जस्तै डलर, युरो, पाउन्ड र जापानी येनको आफ्नै विशिष्ट संकेत रहेको स्मरण गराउँदै नेपाली मुद्राको पनि आफ्नै स्वाभिमान झल्किने सिम्बोल हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विश्वका शक्तिशाली मुद्राहरूको आफ्नै सिम्बल छ। तर, हामी अझै पनि नेपाली मुद्रामा रुपैयाँको एक्रोनिम वा अंग्रेजीमा नेपाली रुपिजको एनपीआर प्रयोग गरिरहेका छौँ। यो ग्लोबल फिनटेक युगमा हाम्रो आफ्नो मौलिक युनिकोड सिम्बल भयो भने धेरै कुरामा सहज हुन्छ।’

आचार्यले नेपालको राष्ट्रियता र स्वाभिमानसँग जोड्दै देवनागरी लिपिको मौलिकता झल्किने गरी मुद्राको सिम्बल बनाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *