लटरम्म स्याउ फले पनि बिक्री नभएको दार्चुलाका किसानको गुनासो

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा स्याउखेती गरेका छन् ।

कलमी, गाला, इटालीयन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानी समस्याका कारण बिक्रीवितरण हुन नसकेको हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिँह धामीले गुनासो गरे ।

उनले व्यावसायिक स्याउखेती गरेका छन् । ५०० भन्दा बढी बोटमा १५/२० क्विन्टल स्याउ फले तर ढुवानीको समस्या र बजार अभावका कारण समस्या भएको उनले बताए ।

‘गाउँमा सबै परिवारले स्याउखेती गरेका छन्, एक सयभन्दा बढी बोटबिरुवा हुने १०/१२ परिवार छन्, अरूले त अलिअलि बिक्री गरे, आफन्त आफन्तलाई दिए, आफ्नो त १० क्विन्टल जति स्याउ त्यत्तिकै छ,’ धामीले भने, ‘एक सय रुपैयाँ प्रतिकिलोका दरले गाउँमै एक क्विन्टल जति बिक्री गरेँ, गाडीसम्म ढुवानी गर्दा एक दिन पूरै लाग्छ, त्यहाँ लगरे पनि बिक्री हुने नुहुने ठेगान छैन ।’

अपी हिमाल–३ का कसौती गाउँमा जनक सिँह कार्कीले पनि व्यावसायिक स्याउखेती गरेका छन् । कसौती अझै पाथाभन्दा टाढा हो । त्यताको स्याउ झन् के बिक्री हुन्थ्यो कृषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

आजभन्दा तीन वर्षअघि पाथामा घरेलु तथा साना उद्योग विकास कार्यालयले पाथा गाउँमा चिस्यानकेन्द्र निर्माण गरेको छ, अहिले केन्द्र कपुर धामीको १० क्विन्टल र अरू किसानको गरी १५ देखि २० क्विन्टल स्याउ थन्किएको छ ।

विद्युत् आपूर्ति नियमित नहुँदा र लामो समयसम्म केन्द्रमा स्याउ थन्किने चिन्ताले किसानहरु चिन्तित भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *