न्युयोर्क । च्याटजीपिटीको स्वामित्ववाला कम्पनी ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो।
कम्पनीले शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जानकारी दिएको थियो। गर्मीयाममा भएका ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिइएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपनएआईले जनाएको छ।
यसैबीच, एआई मूल्यांकन संस्था ट्रान्सलुसले ओपनएआईसँग सम्बन्धित देखिएका केही एआईले अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको जनाएको छ। उक्त दाबीलाई ओपनएआईले भने पुष्टि गरेको छैन।
ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू भएकोमा विश्वस्त भएपछि मात्र मोडलको प्रशिक्षण पुनः सुरु गरिनेछ। एआई प्रविधिको विकाससँगै नयाँ चुनौतीहरू देखिन सक्ने भएकाले भविष्यमा पनि प्रशिक्षण अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ।
एआईले वेबसाइटसँग अन्तरक्रिया गर्ने, सूचना खोज्ने तथा विभिन्न कार्य आफैं सम्पन्न गर्ने क्षमता बढ्दै गएपछि यसको सुरक्षा र नियन्त्रणबारे अमेरिकी सांसद तथा प्रविधि विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन्।
ओपन एआई र प्रतिद्वन्द्वी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखहरूले पनि आवश्यक सुरक्षा मापदण्ड तथा नियन्त्रण प्रणाली निर्माण गर्न एआई विकासको गति केही कम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पछिल्लो तीन महिनामा ओपन एआईले एआई मोडलको विकास रोकेको यो दोस्रोपटक हो। यसअघि जुलाईमा एआईसम्बन्धी स्टार्टअप हगिङ फेसमाथि भएको साइबर आक्रमण सार्वजनिक भएपछि कम्पनीले आफ्नो मोडल विकास अस्थायी रूपमा रोकेको थियो।
