काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धाप बाँधको अवस्था सामान्य रहेको र सर्वसाधारणले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले बाँध नियमित प्राविधिक निगरानी तथा व्यवस्थापनमा रहेको जानकारी दिँदै बाँधको सुरक्षा र आवश्यक पूर्वतयारी निरन्तर भइरहेको बताएका हुन् ।
उनका अनुसार मनसुनका कारण जलाशयमा पानीको बहाव बढेपछि बाँधको अवस्था, पानीको सतह तथा पानीको आगमन र निकासको निरन्तर निगरानी भइरहेको छ । हालसम्म बाँधको मुख्य संरचनामा कुनै असामान्य अवस्था देखिएको छैन ।
काठमाडौँ उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलित पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँध कङ्क्रिट फेस्ड रकफिल ड्याम (सीएफआरडी) प्रविधिमा आधारित छ ।
जलाशयको सामान्य पानीको सतह २०८७.१४ मिटर रहेको छ । उक्त सतहभन्दा माथि पानी पुगेमा स्पिलवेबाट स्वतः निकास हुने व्यवस्था रहेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।
गत भदौ २४ गते सिन्धुपाल्चोकतर्फको स्याडल ड्याम–१ नजिक सडक किनारामा पहिरो गएपछि सुरक्षाका लागि प्रतिसेकेन्ड करिब ४०० लिटर पानी निकास गरिँदै आएको छ ।
पहिरो गएको समयमा जलाशयको पानीको सतह २०८७.१८ मिटर रहेकोमा हाल घटेर २०८४.८० मिटर पुगेको छ । यस अवधिमा पानीको सतह करिब २.३८ मिटर घटेको र सञ्चित पानीको करिब ३५ प्रतिशत निकास भइसकेको मन्त्री श्रेष्ठले बताएका छन् ।
हाल वर्षाको मात्रा घट्दो क्रममा रहेकाले जलाशयमा पानीको आगमनसमेत घट्न सक्ने अवस्था रहेको छ । जलाशयको पानीको सतह, आगमन र निकासलाई विशेष निगरानीमा राखेर आवश्यकताअनुसार पानी व्यवस्थापन भइरहेको उनले बताएका छन् ।
बाँधको सुरक्षाका विषयमा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले आवश्यक प्राविधिक निगरानी र पूर्वतयारीलाई निरन्तरता दिइएको स्पष्ट पारेका छन् ।
