काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढी पहिरोको जोखिम बढ्न स क्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गरी असोज ८ देखि १२ गतेसम्मको अवधिमा अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई अपील गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानलाई आधार बनाउँदै महासंघले यात्रा गर्नुअघि सडक र मौसमको अवस्था अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक तथा मालवाहक सवारी सञ्चालन गर्दा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसायी, चालक, परिचालक तथा बुकिङ कर्मचारीलाई आग्रह गरिएको छ ।
महासंघले जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन नगर्न र सम्भावित विपद्बाट जोगिन पूर्वसूचनालाई प्राथमिकताका साथ पालना गर्नसमेत आग्रह गरेको छ ।

