प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदको माग

काठमाडौँ ।   सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन र अन्तरराष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको विशेषमा भाग लिँदै उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे  ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको भ्रमणमा अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विकासको आधारलगायतका विषय प्रस्तुत गर्नुपर्ने बताइन् ।

नेपाली कांग्रेसका सांसद सुशीला ढकाल (आचार्य) ले महासभामा सम्बोधन गर्दा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबाट उत्पन्न पीडा विश्वसामु प्रमाणसहित राख्न सुझाव दिइन्  । उनले अन्तरराष्ट्रिय सहयोगको कुरा गरिरहँदा देशभित्र प्रभावितको राहत र पुनःस्थापनाप्रति समेत जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिइन् ।

रास्वपाका सांसद सुष्मा स्वर्णकार (डिम्पल) ले प्रधानमन्त्रीको भ्रमण फलदायी र उपलब्धिमूलक हुने अपेक्षा गर्दै जलवायु न्यायका सन्दर्भमा नेपालको हिमालको आवाज तथा सीमान्तकृत समुदायलगायत विषय सम्बोधन गर्न माग गरिन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद निराशा चौधरी (डगौरा) ले कञ्चनपुरमा वन्यजन्तुबाट भइरहेको जनधनको क्षतितर्फ ध्यानाकर्षण गराउँदै दीर्घकालीन योजना बनाउन तथा वन्यजन्तु आरक्षण क्षेत्रका स्थानीयले भोग्दै आएको समस्या समाधान गर्न माग गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद रिमा विश्वकर्माले बलात्कार र हत्याजस्ता अपराधमा मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेका बेला त्यसको वैज्ञानिक आधार नभेटिएको बताउँदै अन्तरराष्ट्रिय अभ्यासबारे चर्चा गरिन् । उनले अपराध न्यूनीकरणका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै राज्य संयन्त्र र समाज पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिन् ।

रास्वपाका सांसद श्रद्धा कुँवर क्षेत्रीले चाडपर्व सुरु हुन लाग्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनता मारमा परेको बताइन् । उनले बजार अनुगमन तीव्र बनाउन तथा सुपथ मूल्य केन्द्र सञ्चालनमा ल्याउन आग्रह गरिन् ।

रास्वपाका सांसद समीक्षा बाँस्कोटाले सुरक्षित मातृत्व र प्रजनन सुरक्षाको हक कार्यान्वयन गर्न तथा यससम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन माग गरिन् । रास्वपाका सांसद कृपा महर्जनले नेवार समुदायको पर्व येँयाः पुन्हि (इन्द्रजात्रा) को संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

रास्वापका सांसद विना गुरुङले सवारी चालक अनुमतिपत्र नवीकरणका क्रममा भोग्दै आएको प्रक्रियागत झन्झट र कार्यालयको लापरबाहीका कारण नागरिकले सास्ती भोगिरहेकातर्फ ध्यानार्कषण गराइन् ।

रास्वपाका  सांसद डा ओजस्वी शेरचनले शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल देशभरका सबै विश्वविद्यालय र पेशागत परिषद्बीच प्रभावकारी समन्वय गरी एकीकृत रूपमा शैक्षिक पात्रो लागू गर्न सुझाव दिइन्  ।

रास्वपाका सांसद सुजाता तामाङले विश्व मञ्चबाट जलवायु जोखिम घटाउन विश्व समुदायलाई दबाब दिनुपर्ने बताइन् । उनले भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विकास ढाँचा र जमिनको पुनःउत्थान एवं समुदायको सामाजिक–सांस्कृतिक पक्षलाई समेत ध्यानमा राखेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन्  ।

रास्वपाका सांसद मञ्जु भुसालले सार्वजनिक खरिद प्रक्रियाबारे टिप्पणी गर्दै इलेक्ट्रोनिक सरकारी खरिद प्रणालीमा देखिएको समस्या सुधार गरी सञ्चालनमा ल्याउनुपर्ने बताइन् ।

रास्वपाका सांसदहरू ज्ञानेन्द्रसिंह महता र सांसद सुशील खड्काले राष्ट्रिय सुरक्षामा खतरा सिर्जना गर्न सक्ने भन्दै भूराजनीति सङ्कटलाई व्यवस्थित गर्न एकीकृत राष्ट्रिय सुरक्षा नीति आवश्यकता औँल्याए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *