नारायगढ । चितवनको नारायणगढ–मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् ।
एक त पटकपटक पहिरो खसेर सास्ती बेहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन भइसकेको यातायात आज भने बिनासूचना दिउँसो पाँच घण्टा आवागमन बन्द गर्दा यात्रु थप मारमा परेका थिए । जसका कारण झण्डै २० किलोमिटर लामो गाडीको लाइन बनेको थियो ।
शुक्रबार मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाँच घण्टा सडक बन्द गरेर काम गर्दा एउटा एम्बुलेन्सलाई समेत छिर्न दिइएन, न त आयोजनाले दिउँसो काम गर्नका लागि बाटो बन्द हुन्छ भन्ने सार्वजनिक सूचना नै जारी गर्न आवश्यक ठान्यो । जसका कारण यात्रुहरुले सास्तीमाथि सास्ती पाए ।
गाडी चलिरहेको बेलामा पाँचपाँच घण्टा सडक बन्द गर्नुपर्ने भएपछि गाडीहरुलाई निश्चित ठाउँमा रोक्नुपर्नेमा स्थानीय प्रशासन र नारायणगढ मुग्लिन आयोजना त्यसमा समेत चुकेको देखिएको थियो । मध्याह्न १२ बजेसम्म एकतर्फी खुलिरहेको सडक एक्कासी गाडी रोक्दा आइपुगेका यात्रुले दिन भर आक्रोश पोखेका थिए । दर्जनौँ एम्बुलेन्स रोकिएर बस्न बाध्य भए । ट्राफिक प्रहरीसँग यात्रुहरुले आक्रोश पोखे पनि कुनै सुनुवाई भएन । तीन दिनदेखिको जामका कारण १५ किलोमिटरभन्दा बढी लामो सवारीको लाइनमा शुक्रबार दिउँसो पाँच घण्टा यातायत अवरुद्ध हुँदा झण्डै उतिनै गाडी थपिएको थियो ।
बिनासूचना एक्कासी गाडी अवरुद्ध गरिनु चाहिँ आयोजनाको र स्थानीय प्रशासनको लापरवाही भएको भन्दै यात्रुहरुले दुखेसो पोखेका थिए । एकजना यात्रु शान्ति थापाले दुःख पोख्दै भनिन्, “कि भएका गाडीहरु एक लट पठाएर काम गर्नुपर्दथ्यो, होइन भने सूचना दिनुपर्थ्यो, बिनाजानकारी एक्कासी गाडी रोकेर यात्रुलाई दुःख दिनु लापरवाहीको हद हो, अब यस्तो नहोस् ।”
यसअघि आयोजनाले गाडी अवरुद्ध गर्दा सार्वजनिक सूचना जारी गरेर काम गर्ने गरेको थियो । तर शुक्रबार त्यसो नगर्दा यात्रुहरु थप मारमा परेका थिए ।