काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ५ वटा मुख्य एजेण्डा तय गरेको छ । पार्टी मुख्यालय च्यासलमा सम्पन्न बैठकले पार्टी संगठन र आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
कार्यदलको प्रतिवेदनका आधारमा तय गरिएका यी एजेण्डाअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भूमिकाबारे विशेष मन्तव्य राख्नुका साथै विस्तृत राजनीतिक प्रतिवेदन पेश गर्नेछन् र सोही प्रतिवेदनमाथि व्यापक छलफल हुनेछ । यसबाहेक, बैठकले पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन औपचारिक रूपमा पारित गरेको छ । साथै, पार्टीका विभिन्न निकाय तथा कमिटीहरूमा आवश्यक मनोनयन गर्ने कार्यसूची र अन्य समसामयिक संगठनात्मक विषयहरू पनि एजेण्डामा समेटिएका छन् ।
