हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु

गोरखा । हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो ।

सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

तेस्रो शिविरमा टेण्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव सोमबार हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भएको छ ।

यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो । मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ । आरोहीहरु आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *