एमाले कार्यदलले तीन प्रतिवेदन समेटेर साझा दस्तावेज बनाउने

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले चुनावी समीक्षा सम्बन्धी तयार भएका तीन छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर साझा प्रतिवेदन तयार गर्ने भएको छ।

कार्यदलको आइतबार बसेको बैठकले रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तयार गरेका प्रतिवेदनका विषयवस्तुलाई समेटेर एउटै दस्तावेज बनाउने निर्णय गरेको हो।

कार्यदलकी सचिव पद्मा अर्यालका अनुसार साझा प्रतिवेदन पार्टी सचिवालयमा पेस गरिनेछ। नेतृत्व पुनर्गठनका विषयमा भने कार्यदलले प्रत्यक्ष प्रस्ताव नगर्ने उनले स्पष्ट पारिन्।

उनका अनुसार कार्यदल संयोजकले प्रस्तुत गरेको प्रतिवेदनको मस्यौदामा आवश्यक परिमार्जन गरी साझा दस्तावेज तयार गरिँदैछ। त्यसपछि नेतृत्वसँग सम्बन्धित विषयमा आवश्यक निर्णय पार्टी सचिवालयले गर्नेछ।

यसैबीच, कार्यदलले राष्ट्रिय परिषद्को बैठक बोलाउने निर्णयसमेत गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो ३ बजेपछि बस्दैछ। उक्त बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *