काठमाडौँ । नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की सेनाभित्रैका दुईजना महिला अधिकृतसँगको यौनकाण्डमा संलग्न भएको आरोपमा बर्खास्त भएका छन् । अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स गरेका कार्कीलाई पदीय मर्यादाविपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेको भन्दै बर्खास्त गरिएको हो ।
दक्षिणी सुडानमा शान्ति सेना भएर खटिँदा सेनानी दर्जाकी र दुई बच्चाकी आमा महिला अधिकृतसँग कार्कीले अनैतिक सम्बन्ध राखेका थिए । कार्कीसँग यौनकाण्डमा मुछिएका महिला अधिकृत र जवानलाई पनि सोही आरोपमा बर्खास्त गरिएको छ । उनीहरू सबैलाई पदीय मर्यादा विपरित आचरण गरेकोमा कारबाही गरिएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।
कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो । प्रवक्ता पौडेलले कोर्ट अफ इन्क्वायरीले कार्कीसँगै महिला सैनिकको पनि आचरणमा गलत मनशाय देखिएको भन्दै दुवै जनालाई बर्खात गर्नुपर्ने निर्णय सुनाएको बताए । यौन दुर्व्यवहारमा बर्खास्तमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत भएको पनि पौडेलले जानकारी दिए ।
