काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित भेन्डरहरूको संघर्ष समितिले आयोजना स्थलमा गाडी तथा कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलन घोषणा गरेको बताए । यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने उनको भनाइ थियो ।
दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित बाढीपीडित र स्थानीय भेन्डरका छुट्टाछुट्टै संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका छन् ।
बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा नदीबाट क्षति पुगेका क्षेत्रको संरक्षणलाई प्रमुख माग बनाएको उनले बताए । यस्तै, स्थानीय भेन्डरहरूले सरकारबाट आफूले पाउनुपर्ने रकम भुक्तानीको माग गर्दै आएको दुलालले उल्लेख गरे ।
समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिँदै दुलालले मेलम्चीदेखि हेलम्बु हुँदै मेलम्ची हेडवक्र्ससम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का अविलम्ब अघि बढाउन माग गरे ।
उनले मेलम्चीदेखि पाँचपोखरी–भोताङसम्मको सडकका लागि पनि बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे ।
त्यसैगरी, मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि बढाउन तथा स्थानीय भेन्डरहरूसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न उनले माग गरे ।
प्रभावितका माग सम्बोधन नगर्दा उनीहरू निरन्तर पीडित भइरहने र माग सम्बोधनका क्रममा आयोजनाको पानी पथान्तरणमा अवरोध हुने अवस्था सिर्जना भएको दुलालको भनाइ थियो ।
