काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसदीय गतिविधिलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सुरु गरेको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गरेका हुन् ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि संसद्का दुवै सदन तथा समितिका बैठकमा सांसदको उपस्थिति, अनुपस्थिति र बिदाको विवरण बायोमेट्रिक तथा एनएफसी प्रविधिबाट स्वचालित रूपमा अभिलेख गरिनेछ। यसबाट बैठकमा सांसदहरूको सहभागिता वास्तविक समयमा अनुगमन गर्न सकिनेछ ।
नयाँ प्रणालीमार्फत सरकारी तथा गैरसरकारी विधेयक दर्तादेखि पारित हुने चरणसम्मको प्रक्रिया डिजिटल रूपमा ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, सर्वसाधारणले सार्वजनिक पोर्टलबाट सदन तथा समितिका बैठकका कार्यसूची, छलफलका विषय र प्रतिवेदनलगायत सामग्री अनलाइनमै हेर्न सक्नेछन् ।
सांसदहरूका लागि छुट्टै मोबाइल एपसमेत तयार गरिएको छ। एपमार्फत सांसदहरूले आफ्नो व्यक्तिगत विवरण, हाजिरीको अवस्था तथा बैठकसम्बन्धी आवश्यक सूचना मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, संसद्मा उठाइएका प्रश्न तथा तिनको सम्बोधनको अवस्थालाई समेत प्रणालीमार्फत वास्तविक समयमा अनुगमन गर्न सकिने सचिवालयले जनाएको छ । मन्त्रालयसँगको समन्वयलाई इमेल प्रणालीमार्फत जोडिने तथा शून्य समयमा उठाइएका विषयको औचित्य पुष्टि गर्ने प्रक्रियासमेत डिजिटल माध्यमबाट अघि बढाइनेछ ।
संसदीय सूचना तथा डेटा सुरक्षित राख्न सरकारी एकीकृत डेटा व्यवस्थापन केन्द्र र मिररिङ केन्द्रमार्फत भण्डारणको व्यवस्था गरिएको छ। डेटा सुरक्षाका लागि आधुनिक सुरक्षा प्रणाली प्रयोग गरिएको सचिवालयको भनाइ छ ।
हाल परीक्षणको चरणमा रहेको प्लेटफर्मलाई प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा थप परिष्कृत गर्दै लैजाने सचिवालयले जनाएको छ । सचिवालयले सांसद, पत्रकार तथा सर्वसाधारणसँग प्रणाली सुधारका लागि सुझाव दिन आग्रह गरेको छ ।
