भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर । हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ ।

पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रर्वद्धनमा जोड दिएको हो ।

भेडापालन व्यवसायको संरक्षणको लागि गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

गाउँपालिकाले वडा नं ३ मा भेडापालन व्यवसायलाई प्रोत्साहन गर्न रु दुई लाख ७० हजार अनुदान उपलब्ध गराएको छ । ‘थुलुङ गाउँ कृषि तथा भेडापालन’ समूहलाई  अनुदान सहयोग गरिएको हो । समूहको २५ प्रतिशत लागत साझेदारी रहेको छ ।

स्थानीय भेडापालक कृषक राजेश थुलुङले हराउँदै गएको भेडापालन व्यवसायलाई निरन्तरता दिन गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए । “पालिकाको सहयोगले हामीलाई ठूलो ऊर्जा मिलेको छ”, उनले भने, “अहिले यहाँका १२ जना भेडापालक कृषक मिलेर समूह गठन गरी व्यवसायको संरक्षण र विस्तारमा जुटेका छौँ ।”

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गत आर्थिक वर्षमा यो कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । परीक्षण सफल भएपछि चालु आर्थिक वर्षमा बजेट बढाएर निरन्तरता दिइएको छ । गत वर्षको नतिजा सकारात्मक आएकाले यो वर्ष भेडापालन प्रर्वद्धनका लागि रु तीन लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले किसानको आयआर्जन वृद्धि गर्न भेडापालनका साथै अन्य पशुपालनलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार वडाभित्र बाख्रापालन तथा बङ्गुरपालन व्यवसायमा लागेका किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्रका मौलिक तथा परम्परागत पेसाको जगेर्ना गर्दै किसानको जीवनस्तर सुधार्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

उत्पादन र पशुपालनमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि प्रर्वद्धननात्मक कार्यक्रमलाई थप व्यवस्थित र क्षेत्र फराकिलो बनाउँदै लैजाने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *