काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेका दुईवटा मुद्दा फाँटमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट महत्वपूर्ण कागजातसहित फाँटमा रहेका फर्निचर तथा अन्य सामग्री जलेर क्षति पुगेको छ ।
नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर मुद्दा फाँटमा आगलागी भएको हो । प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।
आगलागीबाट मुद्दा फाँटमा रहेका कागजात, कुर्सी, टेबललगायतका सामग्रीमा क्षति पुगेको स्रोतले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
सर्वोच्च अदालतमा यसअघि पनि करिब दुई साताअघि आगलागी भएको थियो । त्यसबेला अदालतको अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो । उक्त घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
