काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर नेपालमा खरिद मूल्य महँगिए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो । तर, भोटेकोशी नदीमा आएको असाधारण बाढीबाट सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले तत्कालका लागि मूल्य नबढाउने निर्णय गरेको हो ।
भदौ ३१ गतेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको साविककै खुद्रा मूल्य कायम गरेको छ । जसअनुसार पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।
निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ तथा काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ । एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत् राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा पनि नेपालमा खुद्रा मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

