काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने घोषणा गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै केसीले त्यो कदम नरोके आफू फेरि अनसन बस्ने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो । प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ।’
कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनको जिकिर छ ।
उनले भनेका छन्, ‘पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोसिस गरेको छ। जबकि कानुनमा कतै त्यस्तो प्रावधान छैन। कुनै संस्थाका भ्रष्ट पदाधिकारीहरूको गठजोड र सत्तामा हुनेहरूको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन सक्दैन। त्यसैले अवैध रूपमा चोर बाटोबाट सम्बन्धन दिलाउने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन।’
डा. केसीले विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिको तत्काल राजीनामाको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अवैध रूपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनुपर्छ। कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन् । विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्छ। यी मागहरु पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरू गर्ने जानकारी गराउन चाहन्छौं।’
