काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ । पार्टीको इतरपक्षले सभापति गगन थापा नेतृत्वले असोज ३ गतेदेखि सुरु गर्न लागिएको भनिएको अधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सोमबार पत्रकार सम्मेलन गर्दै असोज ३ गतेदेखि हुने भनिएको अधिवेशन पार्टीको विधि र प्रक्रियासम्मत नभएको दाबी गरे।
कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अघि बढ्न आग्रह गरे । उनले असोज १५ गतेदेखि वडा तहलगायत विभिन्न तहका अधिवेशन सुरु हुने त्यसमा सहभागी हुन आग्रह गरे ।
इतरपक्षले मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनलाई सफल बनाउन पनि अपील गरेको छ।
पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेसभित्रको विवादलाई नेतृत्व र पदको सामान्य प्रतिस्पर्धाका रूपमा मात्र लिन नहुने बताए। पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको विषय भएकाले विवादलाई गम्भीरतापूर्वक समाधान गर्नुपर्ने उनको भनाइ थियो।
