काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन एमालेका नेताहरू आवासीयरूपमा रहेर बैठक व्यस्त रहेका छन् ।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीयरूपमा रहेर छलफल गरिरहेको जनाइएको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि त्यता जानुभएका नेताहरू छलफल सकेर आइतबार काठमाडौं फर्कनेछन् ।
पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलले प्रदेशगतरूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो । महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहेको जनाइए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरु छलफल गरिएको हो ।
गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । गत जेठ २६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो ।
गत शुक्रबारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ ।
भोटेकोशी बाढीपछिको अवस्थामा एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५,६ र ७ गतेका लागि तोएिकाले कार्यदललाई प्रतिवेदन अन्तिम रुप दिने प्रयास जारी रहेको जनाइएको छ ।
