मधेशका मन्त्रीहरुलाई अपमान गरेर हटाइनु मधेशमाथिको प्रहार होः प्रचण्ड

जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले सबैभन्दा बढी पीडा मधेश र मधेशवासीलाई नै दिएको बताए ।

सरकारले यहाँका गरीब, मजदुर, किसानमाथि नै प्रहार गरेको प्रचण्डको भनाई छ । मधेशसँग जोडिएका भारतका सीमानाकाको रक्षा गर्दै आएका मधेशी जनतालाई नै भारतबाट सामान ल्याउँदा कर लगाउने सरकारको नीतिप्रति आपत्ति जनाए ।

प्रधानमन्त्री बालेन सनले आफ्नो एक अभिव्यक्तिमा नेपालले भारतको सीमा मिचेको भनेको नै मधेशी जनतालाई लक्षित गरी भनिएको प्रचण्डले बताए । प्रधानमन्त्री बालेनको सो अभिव्यक्तिले मधेशी जनताको अपमान गरेको प्रचण्डले उल्लेख गरे ।
मधेशी जनताले मधेशको छोरो प्रधानमन्त्री हुने भनेर विश्वासका साथ दिएको भोटले उल्टै मधेशी जनतामाथि नै प्रहार भएको उनले बताए ।

सरकारको बजेट र नियुक्ति पनि मधेशको विरुद्धमा रहेको प्रचण्डको भनाई छ । समय बितेसँगै मधेशका जनताले गलत ठाउँमा भोट दिएको भन्ने समीक्षा गर्ने प्रचण्डले बताए । संयोजक प्रचण्डले अब फेरि जेनजी युवाहरुले यो सरकारको विरोधमा विद्रोह गर्ने दाबी गरे ।

सरकार मधेशी जनता विरोधी रहेको महसुस गरेकै कारणले अहिले रास्वपाकै सांसदहरु सरकारको विरोधमा लागेको उनले बताए । मधेशका मन्त्रीहरुलाई अपमान गरेर हटाइनु, मधेशी जनताले पक्कै बुझ्नेछ र चाँडै मधेशी जनताले सरकारको विरोधमा उत्रिने प्रचण्डले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *