काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचारको आरोपबारे छानबिन गरी उनलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सुनारले आईजीपी कार्कीमाथि तल्लो तहका प्रहरी कर्मचारीका लागि खरिद गरिएका जुत्ता–मोजालगायतका सामग्रीमा अनियमितता गरेको आरोपसमेत लागेको बताए ।
उनले कार्कीमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप सार्वजनिक भइरहे पनि सरकारले अहिलेसम्म कुनै कदम नचालेको भन्दै प्रश्न उठाए ।
सुनारले भने, “उनीमाथि करोडौं करोड भ्रष्टाचार गरेको आरोप लागेको छ । यस्तो आरोप लागिसक्दा पनि सरकारले उनलाई बर्खास्त किन गरिरहेको छैन ? छानबिन किन भइरहेको छैन ?”
सांसद सुनारले महानिरीक्षक कार्की, उनकी श्रीमतीसहित उच्च अधिकारीहरूविरुद्ध भ्रष्टाचारसम्बन्धी उजुरीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा परेको दाबी गरे ।
