आमा, हामीलाई माफ गरिदेऊ !

-लिमा अधिकारी

बि.सं. २०६१/६२ मा जब तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले सुत्केरी महिलालाई अस्पतालसम्म पुर्याउन यातायात खर्च र भत्ता दिने सुरुवात गर्नुभयो, त्यो बजेटको कुनै सामान्य अङ्क मात्रै थिएन। त्यो त यो देशका लाखौं गरिब आमाहरूको कोख र नवजात शिशुको सासप्रतिको राज्यको पवित्र संकल्प थियो। त्यो नीतिले हजारौं आमाहरूको ज्यान जोगियो र नेपालमा मातृ–शिशु मृत्युदर घटाएर संसारमै एउटा दृष्टान्त बन्यो ।

नेपालले सन् १९९० को दशकको तुलनामा मातृ मृत्युदरमा ७० प्रतिशतभन्दा बढी गिरावट ल्याई ’आमा सुरक्षा कार्यक्रम’ मार्फत उत्कृष्ट प्रगति हासिल गरेको थियो। यसै उपलब्धिका लागि संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफले नेपाललाई सहस्राब्दी विकास लक्ष्य (MDG ५) अन्तर्गत सन् २०१० सेप्टेम्बर (UN को ६५ औं महासभा, न्युयोर्क) मा ‘MDG २०१०’ बाट उच्च सम्मान गरेका थिए।

तर हिजो राजविराजको अस्पतालको ढोकामा जे घट्यो, त्यसले हाम्रो राज्य, हाम्रो व्यवस्था र हामी सबैको मानवीय चेतनालाई रगतपच्छे हुने गरी लज्जित बनाएको छ । एउटी गर्भवती महिला, जो मृत्यु र जीवनको दोसाँधमा असह्य प्रसव वेदनाले छटपटाइरहेकी थिइन्, उनलाई केही हजार रुपैयाँको अभाव भएकै कारण अस्पतालको ढोकाबाट घोक्य्राएर बाहिर निकालियो ।

एउटा नयाँ प्राणलाई संसारमा ल्याउँदा एउटी आमाको शरीरले सहने त्यो चरम प्रसव पीडा कति हुन्छ, त्यो सायद एउटी आमालाई मात्र थाहा हुन्छ । त्यस्तो जीवनमरणको घडीमा पैसा नभएकै नाममा एउटी आमालाई बाटोमा फ्याँकिदिनु स्वास्थ्य सेवाको लाचारी मात्र होइन, यो राज्यको आँखा अगाडि गरिएको खुला अमानवीय अपराध हो ।

हामीले खोजेको परिवर्तनको अनुहार यही हो ? यही दिन देख्नका लागि ठूला–ठूला नागरिक मत र सत्ता बनेका थिए ? हामी संविधानको धारा ३८ मा ‘सुरक्षित मातृत्व’लाई मौलिक हक भनेर सुनौलो अक्षरमा लेख्छौं, ऐन–कानुन बनाउँछौं, संसद् र मञ्चहरूमा उभिएर ‘सुशासन’ र ‘समाजवाद’का गगनभेदी भाषण छाँट्छौं, तर जब दुर्गम र दूरदराजमा एउटी असहाय आमा अस्पतालको सिँढीमा पीडाले छटपटाउँदै बाटोमा फ्याँकिन्छिन्, तब हाम्रा ती सबै भाषण, दस्तावेज र व्यवस्थाका दम्भहरू माटोमा मिल्छन् ।

राज्यको नीति निर्माण र व्यवस्थाको हिस्सा हुनुको नाताले म ती आमासँग र सम्पूर्ण नागरिकसँग शीर झुकाएर क्षमा माग्छु। यो एउटी आमामाथि भएको अन्याय मात्र होइन, यो हाम्रो सामूहिक मानवीय संवेदनाको मृत्यु हो। पैसाको अभावमा अस्पतालको ढोकाबाट आमा र बच्चा धपाइने यस्तो अमानवीय र निर्दयी अवस्थाको अन्त्य गर्न नसक्ने हो भने हाम्रा यी पद, कुर्सी र ठूला भाषणको कुनै औचित्य छैन । उक्त अस्पतालका दोषी कर्मचारी र प्रशासनलाई तत्काल कडाभन्दा कडा कारबाही गरियोस् । पैसा नभएकै कारण कसैले अस्पतालको ढोकामा मर्नु नपरोस् । आमा, हामीलाई माफ गरिदेऊ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *