काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ ।
“काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे, सुरुआती दिनमै केही सरसल्लाह भएको भए कमजोरी देखिन्नथ्यो होला भन्ने बारेमा छलफल भयो,” बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले भनिन् ।
बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरवारविहीनलाई तत्काल अस्थायी पुनःस्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ । सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकको निर्णय छ ।
“ठूलो विपत्तिको सामना गरिरहेका बेला राजनीतिक विषयलाई एकातिर पन्छाएर हामी एकाकार हुँदै विपत्तिको सामना गर्ने, विपद्मा परेका नागरिकको खोजउद्धार तथा प्रभावितलाई राहत, सहुलियत, साहनुभूति प्रकट गर्ने र सुविधा दिने काममा लाग्नुपर्छ,” उनले भनिन् ।
विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने उनले स्पष्ट पारिन् । बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारीहरू सहभागी थिए ।
