दक्षिण कोरियामा विद्यालय हिंसा १३ वर्षयताकै उच्च

सियोल । डिजिटल उपकरणको बढ्दो प्रयोग, सामाजिक दूरी र कोभिड–१९ महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना कीर्तिमानीस्तरमा पुगेका छन् ।

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, कक्षा ४ देखि हाईस्कुलको अन्तिम वर्षसम्मका करिब ३९ लाख विद्यार्थीमा गरिएको विद्यालय हिंसासम्बन्धी सर्वेक्षणमा सन् २०२६ मा हिंसाको सिकार हुने विद्यार्थीको दर दुई दशमलव नौ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव चार प्रतिशतले बढी हो ।

शिक्षा मन्त्रालयले सन् २०१३ देखि विद्यालय हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेयता यो सबैभन्दा उच्च दर हो । यसको अर्थ प्राथमिक, निम्न माध्यमिक र उच्च माध्यमिक तहका प्रत्येक १०० विद्यार्थीमध्ये करिब तीन जनाले विद्यालय हिंसाको अनुभव गरेको देखिन्छ ।

वर्षमा कम्तीमा दुई पटक सञ्चालन हुने अनलाइन सर्वेक्षणको यस वर्षको पहिलो चरणमा ८१ दशमलव नौ प्रतिशत अर्थात् करिब ३१ लाख ९० हजार विद्यार्थी सहभागी भएका थिए । यो सहभागिता दर गत वर्षको तुलनामा शून्य दशमलव तीन प्रतिशतले कम हो ।

सर्वेक्षणले सन् २०२५ को दोस्रो सत्रदेखि मे २०२६ सम्म भएका विद्यालय हिंसाका घटनालाई समेटेको थियो ।महामारीपछि विद्यालय सामान्य अवस्थामा फर्किएसँगै विद्यालय हिंसाका घटना निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

सन् २०१९ मा एक दशमलव छ प्रतिशत रहेको हिंसाको सिकार हुने विद्यार्थीको दर दूरशिक्षाका कारण सन् २०२० मा घटेर शून्य दशमलव नौ प्रतिशतमा पुगेको थियो । त्यसपछि भने यो दर क्रमशः बढ्दै सन् २०२१ मा एक दशमलव एक प्रतिशत, २०२२ मा एक दशमलव सात प्रतिशत, २०२३ मा एक दशमलव नौ प्रतिशत, २०२४ मा दुई दशमलव एक प्रतिशत र २०२५ मा दुई दशमलव पाँच प्रतिशत पुगेको थियो ।

विशेषज्ञले यी तथ्याङ्कले महामारीको दीर्घकालीन सामाजिक प्रभावलाई पनि उजागर गरेको बताएका छन् । लामो समयसम्म अरूसँग प्रत्यक्ष सम्पर्क कम हुनु र डिजिटल उपकरणमा बढेको निर्भरताले विद्यार्थीको द्वन्द्व समाधान गर्ने क्षमता कमजोर बनाएको तथा कक्षाकोठामा आक्रामक व्यवहार बढाएको उनीहरूको भनाइ छ ।

“डिजिटल उपकरणको दैनिक प्रयोग बढ्दै जाँदा किशोरकिशोरीमा अरूसँग प्रत्यक्ष वा आमनेसामने सम्बन्ध विकास गर्ने अनुभवको कमी देखिएको छ र उनीहरूको समानुभूति पनि कमजोर हुँदै गएको छ,” सर्वेक्षण सञ्चालन तथा विश्लेषण गर्ने नेसनल युथ पोलिसी इन्स्टिच्युटकी वरिष्ठ अनुसन्धानकर्ता सुङ युन–सुकले भने ।

विद्यालयको तहअनुसार हेर्दा प्राथमिक तहमा हिंसाको सिकार हुने दर सबैभन्दा बढी पाँच दशमलव सात प्रतिशत रहेको छ । निम्न माध्यमिक तहमा यो दर दुई दशमलव तीन प्रतिशत र उच्च माध्यमिक तहमा शून्य दशमलव आठ प्रतिशत रहेको छ ।

हिंसाका प्रकारमध्ये मौखिक हिंसा सबैभन्दा बढी ३७ दशमलव आठ प्रतिशत रहेको छ । त्यसपछि समूहगत दुव्र्यवहार १७ दशमलव एक प्रतिशत, शारीरिक हिंसा १५ दशमलव सात प्रतिशत र साइबर–बुलिङ सात प्रतिशत रहेका छन् ।

यद्यपि, मौखिक हिंसा र साइबर–बुलिङको दर क्रमशः एक दशमलव दुई र शून्य दशमलव आठ प्रतिशतले घटेका छन् । यसको विपरीत, शारीरिक हिंसा एक दशमलव एक प्रतिशत  र समूहगत दुव्र्यवहार शून्य दशमलव सात प्रतिशतले बढेको छ ।

यस वर्ष विद्यालय हिंसामा सङ्लग्न भएको स्वीकार गर्ने विद्यार्थीको दर शून्य दशमलव आठ प्रतिशत रहेको छ, जुन गत वर्षको तुलनामा शून्य दशमलव तीन प्रतिशतले कम हो । तर हिंसाको साक्षी बन्ने विद्यार्थीको दर शून्य दशमलव छ प्रतिशत विन्दुले बढेर छ दशमलव सात प्रतिशत पुगेको छ ।

यसले हिंसामा प्रत्यक्ष सङ्लग्न भएको स्वीकार गर्ने विद्यार्थीको अनुपात घटे पनि विद्यालयमा प्रतिकूल वा असुरक्षित वातावरणको सामना गर्ने विद्यार्थीको सङ्ख्या अझै ठूलो रहेको देखाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *