बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यले गति नलिएको सांसद थापाको गुनासो

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले बाढीमा आफन्त सम्पर्कविहीन भएपछि सयौँ परिवार पीडामा रहेको बताइन्। उनले यो प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय सङ्कट भएको उल्लेख गरिन्।
उनले दैलेख जिल्लाका प्रकाश आचार्य, नरबहादुर थापा, पवित्रा कुमारी बुढा, मोहननाथ योगी, राजेन्द्र शाही, कृष्णबहादुर चन्दलगायत दैलेख तथा कर्णालीका धेरै नागरिक अझै सम्पर्कविहीन रहेको बताइन्।

उनले आफ्नो गृह जिल्ला दैलेख क्षेत्र नम्बर १ अन्तर्गत नमुना बस्तीका बादी समुदायका १० घर पहिरोका कारण विस्थापित भएको जानकारी दिँदै तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

राष्ट्रिय विपत्तिको समयमा नागरिकको जीवन रक्षा गर्नु र सङ्कटमा परेका परिवारलाई राज्यको उपस्थितिको अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको थापाले बताइन्।

उनले सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना उपलब्ध गराउन, आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि तथा उद्धार उपकरण परिचालन गर्न सरकारसँग आग्रह गरिन्।

‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *