सीमापार तुवाँलो नियन्त्रण संयन्त्र समीक्षा गर्न आसियानलाई मलेसियाको आग्रह

क्वालालम्पुर । दक्षिणपूर्वी एसियाली क्षेत्रमा हावाको गुणस्तर निरन्तर बिग्रँदै गएपछि सीमापार तुवाँलोको समस्या समाधान गर्न आसियानले आफ्नो विद्यमान संयन्त्रको समीक्षा र सुदृढीकरण गर्नुपर्ने मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन् ।
पत्रकार सम्मेलनमा अनवरले तुवाँलोको समस्या गम्भीर रूपमा लिन आसियानलाई आग्रह गर्दै यसले जनस्वास्थ्य र मानिसको जीवनमा प्रत्यक्ष असर पार्ने बताए । सीमापार तुवाँलोका स्रोतविरुद्ध प्रभावकारी कदम चाल्न विद्यमान संयन्त्रलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

“यसमा सुधारको पर्याप्त सम्भावना छ। आसियानका मन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्छ, किनकि यसले विशेषगरी बालबालिका र शिशुको स्वास्थ्यमा असर गरिरहेको छ,” उनले भने ।

अनवरले मलेसियाको सारावाक राज्यस्थित सेरियान जिल्लाको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरे । त्यहाँ हावाको गुणस्तर खतरनाकस्तरमा पुगेपछि आपतकाल घोषणा गरिएको थियो।

सोमबार आपतकाल हटाइए पनि सेरियानमा हावाको गुणस्तर पुनः खतरनाक स्तरमा पुगेको छ । मङ्गलबार बिहान जिल्लाको एयर पोल्युटन्ट इन्डेक्स ३०२ मापन गरिएको थियो।

मलेसियाको हावाको गुणस्तर सूचकाङ्कअनुसार ० देखि ५० सम्मको एपिआइलाई ‘राम्रो’, ५१ देखि १०० सम्मलाई ‘मध्यम’, १०१ देखि २०० सम्मलाई ‘अस्वस्थकर’, २०१ देखि ३०० सम्मलाई ‘अत्यधिक अस्वस्थकर’ र ३०१ वा सोभन्दा माथिलाई ‘खतरनाक’ मानिन्छ।

मलेसियाली कम्पनीहरूले इन्डोनेसियामा खुला रूपमा आगो बालेर तुवाँलो फैलाएको आरोपबारे बोल्दै अनवरले दोषीमाथि कारबाही गर्नुअघि आगलागीको वास्तविक कारणबारे विस्तृत अनुसन्धान आवश्यक रहेको बताए ।

उनले इन्डोनेसियाली अधिकारीले दोषी पाइएका कम्पनीविरुद्ध कानुनी वा अन्य कारबाही अघि बढाए मलेसियाले त्यसको सम्मान गर्ने बताए । तुवाँलो फैलाउन जिम्मेवार ठहरिएका कम्पनीलाई जोगाउन मलेसियाले कुनै हस्तक्षेप नगर्ने पनि उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *