काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले गतवर्षको भदौ २३ र २४ गतेको घटनालाई नेपालको इतिहासमा अत्यन्त पीडादायी र त्रासदीपूर्ण घटनाका रूपमा चित्रण गरेका छन् ।
भोटेकोसी बाढीमा सुरुङभित्र मान्छे फस्दाको पीडा र त्रासदी नेपालीले यसपटक भोग्नुपरेको उल्लेख गर्दै उनले क्षतिको यकिन लेखाजोखा गर्नसमेत कठिन भएको बताएका छन्।
‘भदौ २३ र २४ को मानव सभ्यताकै सबैभन्दा क्रूर घटनाले हजारौँ वर्षको स्वाभिमान र स्वाधीनता भएको देशलाई क्षणभरमै सुरुङभित्र पसायो,’ आचार्यले भनेका छन्।
उनले अब देशले सुरुङभित्रै सुशासन खोज्ने कि सुरुङबाटै पहिले देशलाई जीवित उद्धार गर्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने बताएका छन्। ‘त्यसको निक्र्योल हामीले गर्नुपर्छ,’ उनले भनेका छन्।
नेपालको भौगोलिक अवस्थिति अवसर र वरदान बन्न सक्ने भएपनि त्यसलाई सधैं अभिशाप बनाइएको उनको टिप्पणी छ। केही विदेशी शक्तिले नेपाललाई टुटाउने, फुटाउने र आपसमा लडाउने प्रयास गर्दै आएको उल्लेख गर्दै आचार्यले त्यस्ता प्रयासबाट नेपाल अहिलेसम्म जोगिँदै आएको र अब पनि जोगिनुपर्ने बताएका छन् । ‘हामी टुट्नु र फुट्नु हुँदैन,’ उनले भनेका छन्।
उनले भदौ २४ का दिन उनले कुनै पनि मानव बस्ती र राष्ट्रिय सभ्यताले नेपालले जस्तो भदौ २३ र २४ को घटना फेरि व्यहोर्न नपरोस् भन्ने कामना गरेका छन्।
उनले देशी–विदेशी सबै राजनीति न्यूनतम विधि र मान्यतामा आधारित भएर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । मान्छेको जीवन र देशको जीवनको मूल्य हुने भन्दै उनले त्यसको सम्मान गर्नुपर्ने बताएका छन्। आचार्यले देशलाई संकटको ‘सुरुङ’बाट छिटो र सकुशल उद्धार गर्नुपर्नेमा जोड दिएका छन्।
