काठमाडौँ । कानुनमन्त्री सोविता गौतमले एक वर्षअघि भएको जेनजी आन्दोलनका क्रममा राज्यको बल प्रयोगबाट युवाहरूको ज्यान गएको घटनालाई लोकतान्त्रिक इतिहासको पीडादायी अध्यायका रूपमा स्मरण गरेकी छन् ।
जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार सन्देश जारी गरी मन्त्री गौतमले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र कुशासनप्रतिको असन्तोष व्यक्त गर्दै हजारौँ युवा सडकमा उत्रिएको स्मरण गरेकी छन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई असहमति राख्ने, प्रश्न गर्ने र विरोध गर्ने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै आन्दोलनमा सहभागी युवाका परिवारले पनि आफ्ना छोराछोरी लोकतान्त्रिक अभ्यासमा सहभागी भइरहेका छन् भन्ने विश्वास गरेको बताएकी छन्।
आन्दोलनका क्रममा भीड बढ्दै जाँदा परिस्थिति केही हदसम्म नियन्त्रणबाहिर गएको भए पनि त्यसपछि भएको बल प्रयोगलाई सामान्य ‘भीड नियन्त्रण’को घटनाका रूपमा मात्र लिन नसकिने गौतमको भनाइ छ।
“राज्यसँग शक्ति थियो, सुरक्षा संयन्त्र थियो, तयारी गर्ने अवसर थियो र भीड नियन्त्रणका कम घातक विकल्पहरू पनि थिए। तर सडकमा गोली चल्यो,” उनले भनेकी छन्, “हाम्रा कलिला भाइबहिनीहरू ढले। राज्यकै गोलीबाट ढले।”
उनले बिहान आफ्नै हातले स्कुल तथा कलेज पठाएका कतिपय अभिभावकले साँझ आफ्ना सन्तानलाई जीवित घर फर्किएको देख्न नपाएको उल्लेख गर्दै उक्त घटनाले राज्यप्रतिको नागरिकको विश्वासमा समेत गम्भीर चोट पुर्याएको बताएकी छन्।
“राज्यले बन्दुक बोक्ने अधिकार जनताबाट नै पाएको हो। तर त्यो अधिकार निहत्था नागरिकमाथि बन्दुक चलाउन होइन, जनताको सुरक्षा गर्न पाएको हो,” गौतमले भनेकी छन्। राज्यसँग जति ठूलो शक्ति हुन्छ, त्यति नै ठूलो संयम र जवाफदेहिता आवश्यक हुने उनको भनाइ छ।
उनले भीड नियन्त्रणको उद्देश्य नागरिकको जीवन समाप्त गर्नु नभई परिस्थिति नियन्त्रणमा लिनु हुनुपर्ने बताउँदै त्यस दिनको घटनाले राज्यले संयम गुमाउँदा लोकतन्त्र कति निर्दयी बन्न सक्छ भन्ने पीडादायी पाठ दिएको उल्लेख गरेकी छन्।
एक वर्षपछि उक्त दिनलाई स्मरण र संकल्प दुवैको दिनका रूपमा लिनुपर्ने बताउँदै गौतमले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको स्मृतिमा यस्ता घटना फेरि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“त्यो दिन सडकमा पोखिएको रगत हाम्रो स्मृतिबाट मेटिने छैन,” उनले भनेकी छन्, “त्यो ठूलो क्षति राज्य सुधारको आधार बनोस्। त्यो बलिदान भविष्यका हरेक सत्तालाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनी बनिरहोस्।” मन्त्री गौतमले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।
