होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

कायरो । इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिए। उनका अनुसार आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ।

रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलडमरूमध्यतर्फ फैलिनेछ र त्यस क्षेत्रबाट फारसको खाडीतर्फ पनि विस्तार हुनेछ। उनले होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिए।

यद्यपि, इरानले उक्त क्षेत्रको सीमा कहाँबाट सुरु हुने भनेर स्पष्ट गरेको छैन। अमेरिकी नाकाबन्दी इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानलाई तेल निर्यात गर्नबाट रोक्ने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दीलाई २० भन्दा बढी युद्धपोतले सहयोग गरिरहेका छन्। आइतबारसम्म उक्त नाकाबन्दीका कारण ९२ वटा व्यापारिक पानीजहाजको मार्ग परिवर्तन गरिएको र तीन वटा पानीजहाजलाई सञ्चालन गर्न नसक्ने बनाइएको जनाएको छ।

अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला पछिल्लो घोषणा आएको हो। वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उपायहरू अघि बढाइरहेको छ।

यसैबीच, इरानले होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने केही पानीजहाजमाथि आक्रमण जारी राखेको छ। विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमध्य अहिले जारी युद्धमा इरानका लागि महत्वपूर्ण रणनीतिक दबाबको माध्यम बनेको छ।

इरानी सरकारी सञ्चारमाध्यमले आइतबार होर्मुज जलडमरूमध्य प्रवेश गर्न खोजेको एउटा मानवरहित अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेको थियो। तर अमेरिकी सेनाले उक्त दाबीलाई पूर्ण रूपमा झुटो भन्दै अस्वीकार गरेको छ। इरान र अमेरिकाबीचको पछिल्लो तनाव फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धसँग जोडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *