काठमाडौँ । गत साता नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि चीनले नेपाललाई भू–उपग्रहमा आधारित मौसमसम्बन्धी सहयोग बढाएको छ । चीनले सीमापार विपद् निगरानी तथा आपतकालीन उद्धार र प्रतिकार्यमा सहयोग पुर्याउन भू–उपग्रहबाट प्राप्त तथ्यांक र मौसमसम्बन्धी सेवा उपलब्ध गराइरहेको चिनियाँ मौसम विज्ञान प्रशासन (सीएमए) ले जनाएको छ।
सीएमएले चीनको कृत्रिम बौद्धिकतामा आधारित मौसम पूर्वचेतावनी प्रणाली ‘माजु’ (MAZU) मार्फत नेपाललाई विभिन्न मौसमसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको छ । यसमा फेङयुन–३ र फेङयुन–४ मौसम भू–उपग्रह शृंखलाबाट प्राप्त बहुस्रोत भू–उपग्रह तथ्यांक र सामग्रीसमेत छन् । भदौ १० गते चीन र नेपालबीचको जिरोङ–रसुवा सीमा नाकामा ठूलो पहिरो गएको थियो।
चीनको राष्ट्रिय भू–उपग्रह मौसम केन्द्रले विपद् प्रभावित क्षेत्रमा वर्षा तथा मौसममा भइरहेको परिवर्तनको निरन्तर निगरानी गरिरहेको जनाएको छ। उच्च रिजोलुसनका भू–उपग्रह तथ्यांक प्रयोग गरी माथिल्लो क्षेत्रमा रहेका हिमपहिरो तथा चट्टान खस्ने क्षेत्र र नदीका बहाव क्षेत्रको समेत निगरानी भइरहेको छ। यसबाट विपद्को क्षति मूल्याङ्कन, उद्धार तथा मौसमसम्बन्धी सेवामा सहयोग पुगेको सीएमएले जनाएको छ।
सीएमएले नेपालका लागि अनुकूलित मौसमसम्बन्धी सेवाहरूलाई चीनका फेङयुन मौसम भू–उपग्रहसँग वास्तविक समयमै जोडेको छ ।
विपद् भएयता चिनियाँ मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायहरूले नेपाली समकक्षीसँग नजिक रहेर सहकार्य गरिरहेका छन्। उनीहरूले निगरानीसम्बन्धी सूचना आदानप्रदान गर्नुका साथै विपद् व्यवस्थापनमा संयुक्त रूपमा काम गरिरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्।
चीनले आगामी दिनमा नेपालसँग सम्बन्धित क्षेत्रमा सहकार्य थप सुदृढ गर्दै नेपालको आपतकालीन उद्धार तथा प्रतिकार्य प्रयासमा निरन्तर सहयोग गर्ने गुओले बताए।
