एकैदिन ४२ दिनको हाजिर गर्ने जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव यादवविरुद्ध सतर्कता केन्द्रमा उजुरी

जर्मनी । जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको आरोपसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ।

यादवको कार्यालय हाजिरी तथा सेवासम्बन्धी आचरणमा अनियमितता भएको दाबी गर्दै भदौ १६ गते कारबाहीको माग गर्दे राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो ।

केन्द्रलाई दिइएको उजुरीमा सम्बन्धित अवधिको मूल हाजिरी रजिस्ट्रर तथा अन्य उपस्थितिसम्बन्धी अभिलेख सुरक्षित गरी यादवमाथि छानबिन गर्न भनिएको छ।

राष्ट्रिय सतर्कता केन्द्र तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९, निजामती सेवा र सरकारी आर्थिक÷प्रशासनिक अनुशासनसम्बन्धी कानूनबमोजिम अधिकारक्षेत्र प्रयोग गरी प्रथम सचिव यादवलाई तुरून्त नेपाल झिकाएर छानबिन गरि आवश्यक कारबाही गर्न सतर्कता केन्द्रलाई उजुरीमार्फत माग गरिएको छ।

अभिलेख सुरक्षित राखेर निष्पक्ष छानबिन गरियोस्’

सार्वजनिक पदमा कार्यरत व्यक्तिको हाजिरी तथा सरकारी अभिलेखको विश्वसनीयतासँग जोडिएको संवेदनशील विषय भएकाले प्रमाण नष्ट वा प्रभावित हुन नदिने गरी सम्बन्धित अभिलेख तत्काल सुरक्षित राख्न पनि उजुरीमा माग गरिएको छ।

सार्वजनिक सेवाको अनुशासन, पदको जिम्मेवारी तथा राज्यबाट प्राप्त हुने तलब–भत्ता र अन्य सेवासुविधाको वैधतामाथि गम्भीर प्रश्न उठ्ने दाबी उजुरीमा छ।

उजुरीमा राष्ट्रिय सतर्कता केन्द्रलाई उक्त अवधिको तलब, भत्ता तथा अन्य सरकारी सुविधाको विवरण समेत निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न आग्रह गरिएको छ।

जर्मनीको नेपाली राजदूतावासमा कार्यरत प्रथम सचिव रन्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको विषयमा प्रमाणसहित उजुरी आएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी सरिता कुमारी खतिवडाले यादवको विषयमा उजुरी परेको बताएकी छिन्। ’आवश्यक कारबाहीका लागि प्रकृया अघि बढेको छ,’ अधिकारीले भनिन्।

प्रथम सचिव यादवमाथि पत्रकार धम्काएको, परराष्ट्र मन्त्रालयमा पठाएका दूतावासका पत्रहरू बाहिर दिएको तथा दूतावासको आधिकारिक फेसबुक पेजका सूचनाहरु तोडमोड गरेको आरोप समेत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *