काठमाडौँ । रसुवाको भोटेकोसी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नागरिक केरुङ क्षेत्रबाट शुक्रबार तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् ।
नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहयोगमा उनीहरुलाई नेपाल फर्काइएको हो ।
बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुला रहेको छ ।
अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई फर्काइएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यसअघि बिहीबार ११४ जना नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किएका थिए । भोटेकोसी बाढीका कारण अस्थायी पास लिएर केरुङ पुगेका नेपाली अलपत्र परेका थिए ।
नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा करिब एक हजार ६०० नेपाली रहेको अनुमान छ । तीमध्ये नेपाल फर्किनका लागि ८०० जनाले नाम टिपाएका छन् ।
रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन् । केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ ।
