अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन र गलत कार्य सच्याउन आग्रह गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को अनुमति बिना लगाइएका एकपक्षीय प्रतिबन्धप्रति चीनको दृढ विरोध रहने मन्त्रालयका प्रवक्ता हुआङ लिङले नियमित पत्रकार सम्मेलनमा बताए।

चीनले बारम्बार प्रतिनिधित्व गरे पनि अमेरिकी पक्षले इरानसँगको कथित सम्बन्धका आधारमा चिनियाँ कम्पनी र नागरिकमाथि धेरै पटक प्रतिबन्ध लगाएको छ । यसप्रति चीनले गहिरो असन्तुष्टि र दृढ विरोध जनाएको उनले बताए।

अमेरिकाको एकपक्षीय प्रतिबन्धले सम्बन्धित देशहरूबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा अनुचित हस्तक्षेप गर्ने र विश्व ऊर्जा सुरक्षा तथा स्थिर आपूर्तिलाई गम्भीर रूपमा बाधा पुर्‍याउने प्रवक्ताले बताए।

चीनले आफ्ना उद्यम तथा नागरिकका वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने हुआङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *